Thursday, August 25, 2016

kr

गायक खेमराज गुरुँग भाइ अब रहेनन्......
हिजो 'अजरअमर गीतहरु' मा उनलाई समवेदना व्यक्त गरेर ४५ मिनट कार्यक्रम चलाउँदा मलाई खेमको मसितका अनेक भेट याद आए । 
उनी पहिलो पटक 'जीवन भाग १' लिएर मलाई भेट्न आउँदा गीत त्यति चलेको थिएन । उनको गीतको एक अन्तरा 'पोडे होला च्यामे होला तिम्रै माया लाग्छ मायालु' भन्ने पंक्ति आपत्ति आए पछि उनले मलाई भने "दाइ यसमा अब के गर्ने ?"
गीतमाथि चारैतिरबाट हमला भएपछि उनले त्यो पंक्ति हटाएर रेकर्ड गरे फेरि । 
गीतको अर्को पंक्ति 'कालिम्पोंगको मैनाचरी टिस्टा झरी' भन्ने पंक्तिमा दार्जीलिँगतिर विरोध भयो भन्ने खबर आए पछि खेमले एकदिन मलाई भने, "दाजु । यसमा किन विरोध भएको होला ?" 
त्यति वेला दार्जीलिँगमा 'उदय र मनीलाको एकल साँझ' चल्दैथियो । 
मैले फोन गरेर सोध्न भनें, उनले बुझे त्यस्तो खास आपत्ति होइन रहेछ । 
'वारिजमुना पारि जमुना' चल्न शुरु भएपछि खेम, डा भोला रिजाल र म सिनामंगलको मयंक स्कुलमा सँगै गएका थियौँ, डा भोला एक्लै फर्के । हामी दुवै सँगै फक्र्यौँ, ट्याक्सीमा । 
खेमलाई मैले भने, "भाइ, प्रसिद्धीलाई जोगाउनु पर्छ है । "
म पोखरा पुगेँ, रेडियो अन्नपूर्णमा 2058 । 
खेमलाई मैले पोखरा बोलाएँ, ऊ जीवन भाग २ लिएर आईपुग्यो । 
मैले ०५८ सालको बैशाखमा मैले उसको 'पोखरा कल ईन' मा अन्तर्वार्ता लिँदै थिएँ, Annapurna Music FM 99.6 MHz, Pokhara रेडियो अन्नपूर्णको कम्पाउन्डमा भीड लागिसकेछ । 
एफएमको कोठामा राखेर उनीसित भेटघाट गराएँ उनका शुभेच्छुकसित । 
समय वित्दै गयो । 
रविराज बरालले 'रमझम' नामक् सिनेमा बनाउने भयो, खेमको गीत पनि प्रयोग गर्ने भयो । खेम फेरि पोखरा आए , हामीले त्यो गीत कसरी प्रयोग गर्ने सल्लाह गर्यौँ । 
यस फिल्मको स्क्रिप्ट मैले लेख्दै थिएँ, रविले महँगो भयो भनेर पछि अरुलाई लेखाए । 
शुटिंगका क्रममा खेमलाई मैले पोखराका स्रष्टासित भेटघाट कार्यक्रम राखेँ, ईश्वर गुरुँगको Hard Rock Club & Cafe Kathmandu हार्ड रक क्याफेमा । 
सरुभक्त, Tirtha Shrestha तीर्थ श्रेष्ठ, Prakat Pageni Shivaप्रकट पगेनी,  Ramesh Shresthaविनोद गौचन आदिसित उनको पहिलो भेट त्यहीँ भएको थियो । 
खेम केही साहित्यकारको गीत गर्न चाहन्थे ।
म पोखरा हुञ्जेल खेम पोखरा आईरहन्थे , सरसल्लाह र मार्ग निर्देशन मागिरहन्थे तर उनी ड्रिँक गर्न थाले पछि मेरो अगाडि पर्दैन थिए । 
खेमले ०५८ को मंसिर महिनामा खाँदवारी तुम्लिँगटारमा साहित्यकार सरुभक्त र मलाई विशेष अतिथिमा निम्त्यायो । सरुभक्त त झोला तुम्बा बोकेर एयरपोर्ट सम्म पुगे तर म जान सकिनँ । 
देशमा संकटकाल लागेको वेला एफएममा मेरो निगरानी जरुरी थियो , मैले खेमभाइसित माफी मागे । 
रेडियो अन्नपूर्ण छोडेपछि म काठमान्डू फर्केर आएपछि Channel Nepal, Minbhawvan.च्यानल नेपालको निम्ति खेमको मैले धेरै पटक अन्तर्वार्ता गरेँ र एउटै कुरा भने , "भाइ प्रसिद्धीलाई जोगाउनु पर्छ । अनि बहिनीलाई कस्तो छ ? "
खेमकी श्रीमती जसको नाउँ धेरैलाई थाहा छैन, उनी हंगकंग बस्थिन् । म उनको नाउँ अन्त्यमा भन्छु । 
खेम मेरो छिमेकमा भाइ बालिस लिम्बूको विहेमा जन्ती आए , र त्यो घरका सबै जन्ती मेरै घरको आँगनमा जम्मा भएका थिए । खेमलाई मैले मेरो लाइब्रेरीमा ल्याएर राखेँ, र भने "के लिन्छौ ? "
उनले लजाई-लजाई एउटै पेय पदार्थको नाम लिए , मैले भने "ठीक छ भाइ यहाँ पिउन मनाही छ तल जाऊँ । "
खेमलाई त्यतिवेला पनि "भाइ । प्रसिद्धीलाई जोगाउनु पर्छ । "
यो कुरा एकपटक मैले झन्डै झन्डै गइसकेका गायक राजेश पाइल राईलाई पनि कालिका एफएमको अवार्ड थाप्न चितवन आउँदा उनलाई सम्झाएको थिएँ, राजेशले मेरो हात समात्दै भनेका थिए, "दाइको वचन राख्छु ।" 
म कलाकारलाई माया गर्छु तर कलाकारलाई कलाकारले नै विगारीरहेका हुन्छन् । गायक Madhu Chhetri मधु क्षेत्री कुनै समय भन्थे, "साथीभाइले चौबीस घन्टा दिल खोलेर रक्सी खुवाउन सक्छन् तर एकछाक घरमा लगेर भात खुवाउँदैनन् ।" 
यो हाम्रो रोग हो । 
खेम काठमान्डू बस्थे, उनकी पत्नी गुडिया अर्थात गुडीकली हंगकंग बस्थिन्, गुडियाका साथी बालिश, दर्शना लिम्बू मेरा छिमेकी थिए । र, यही कारण एकपटक खेम मेरो छेवमा एउटा घर किन्न पनि आएका थिए । 
"दाइसँग बस्न मन छ" , उनले भनेका थिए । 
त्यतिवेला उनीसँग चलचित्र निर्देशक रामबाबु गुरुँग पनि आएका थिए । तर त्यो घर असाध्य महँगो भएको भएर खेम मसँग बस्न पाएनन् । 
'जीवन पनि असाध्य महँगो रहेछ', खेम र मैले सँगै कुनै गीतमा काम पनि गर्न पाएनौँ । 
खेम र मैले 'अनमोल जिन्दगी' नामक् एउटा एल्बम गर्ने कुरो पनि थियो , "हाम्रो जिन्दगी नै अनमोल रहेछ, खेम । "
खेम अनामनगर, बागबजारतिर खूब घुम्छन्, त्यहाँ विभिन्न किसिमका जमघट हुन्छन् । यी जमघटमा भेला हुने उनका साथीभाइले विस्तारै लेख्लान्, खेमको कमजोरी के हो भनेर ? 
तर मलाई जहाँ सम्म थाहा छ, खेमको कमाजेरी उसका साथी भाइ हुन् , साथीभाइले भनेपछि उनी जे पनि गर्छन् । 
खेम तिमीलाई हार्दिक श्रद्धाञ्जलि । 
बहिनी गुडियाको जीवनमा आएको यो शोकको घडीमा हामी साथै हुन सकौँ ।
खेमजस्तै चर्चामा रहेका अन्य कलाकारले यो कुरा अवश्य बुझौँ, जीवन अनमोल छ ।

No comments: